विवाह भोजको रकम ३ वटा विद्यालयलाई

चितवन, ३१ असार २०७४। विवाहपछि भोजभतेर गरेर लाखौँ रुपैयाँ स्वाहा पार्ने प्रचलनलाई चिर्दै रत्ननगरको एउटा परिवारले विवाहपछि भोजमा खर्च गर्ने रकम विद्यालयलाई हस्तान्तरण गरेको छ ।

रत्ननगर नगरपालिका–१ बकुलहरका तिलक पौडेलले आफ्ना कान्छा छोरा रमेशको विवाहको भोज नगरी रु १ लाख ५० हजार १६५ आज विद्यालयलाई हस्तान्तरण गर्नुभएको हो ।

पौडेल परिवारले रत्ननगर नगरपालिका–१ स्थित बकुलहर माध्यमिक विद्यालय, ओमशान्त राष्ट्रिय प्राथमिक विद्यालय र जन्मस्थल जैमिनी नगरपालिका–५ बिनामारे बाग्लुङको सर्वोदय जनक उच्च माध्यमिक विद्यालयलाई रु ५०÷५० हजारका दरले हस्तान्तरण गरेको हो ।

आज यहाँ आयोजित अक्षयकोष स्थापनार्थ सहयोग रकम हस्तान्तरण कार्यक्रममा बेहुला रमेशका बुबा तिलक, आमा सावित्रा, दाजु गणेश र बेहुली अस्मिता चालिसेले संयुक्तरुपमा चेक हस्तान्तरण गर्नुभयो । रमेशको भरतपुर महानगरपालिका–२३ की अस्मितासँग यही असार २८ गते परम्परागत विवाह भएको थियो ।

कार्यक्रममा बेहुलाका बुबा तिलकले समाज परिवर्तनका लागि विद्यालयलाई अक्षयकोष स्थापनार्थ उक्त सहयोग रकम हस्तान्तरण गरेको बताउनुभयो ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*