मतदान गर्न घर फर्के भक्तपुरका इट्टा भट्टाका मजदुर

भक्तपुर, २० मंसिर २०७४ । काभ्रेपलाञ्चोक बल्थलीबाट भक्तपुरको ताथलीस्थित श्री इँटाभट्टामा काम गर्न आएका रामप्रसाद श्रेष्ठको छ नाको परिवार आज बिहानै घर फर्किएको छ ।

कसलाई भोट दिने भन्नेबारेमा निर्णय लिई नसके पनि मत भने दिनैपर्छ भन्दै काम छाडेर सो परिवार घर फर्किएको हो । भक्तपुरका विभिन्न इँटाभट्टामा काम गर्न आएका मजदुर ३ दिनदेखि मतदान गर्नका लागि घर फर्किरहेकाछन् ।
इँटा व्यवसायी संघका पूर्वअध्यक्ष नवीन प्रजापतिले चुनावका कारण इँटाभट्टामा कामदारको अभाव भएको बताउनुभयो । विगतका वर्षमा यतिखेर इँटा बनाउन शुरु भइसक्नेमा यस वर्ष कतिपय चुनाव सकेपछि काम गर्न आउने भनेर ‘बुक’ भई पहिल्यै नै गएका र काम गरिरहेकाहरु कतिपय मत हाल्न भनेर घर फर्किएकाले मजदुरको समेत अभाव भएको बताउनुभयो ।

निर्वाचनमा मतदाताले उत्साहपूर्ण रुपमा मतदान गरुन् भन्ने उद्देश्यले निर्वाचनपछि आउने भनेकाले तिनलाई व्यवसायीले छुट दिएको प्रजापतिले बताउनुभयो । “मजदुर अभावकै कारण यस वर्ष इँटा उत्पादन ढिला हुनेछ ” उहाँको भनाइ थियो ।

सूर्यविनायक नगरपालिका सिपाडोलमा रहेको इँटाभट्टामा काम गर्ने अधिकांश मजदुर पनि घर फर्किएका छन् । धेरैजसो मजदुर मंगलबारसम्म घर गएका र बाँकी भएकाहरु आज बिहानैदेखि घर जान थालेको व्यवसायीको भनाइ छ । व्यवसायीले समेत मजदुरलाई “यस पटकको मत हाल्नैपर्छ खेर फाल्न हुन्न” भनेर पठाएका छन् ।

सिपाडोलका एक इँटाभट्टामा काम गर्ने सिन्धुलीकी सुन्तली सुनुवारको पाँच जनाको परिवार पनि मत हाल्न घर फर्किएको छ । आज बिहान सूर्यविनायकबाट बस चढ्नुअघि मत हाल्न घर जान लागेको बताउँदै सुनुवारले भन्नुभयो, “गाउँमै रोजगारी दिन्छौँ, भूकम्पले भत्केको घर बनाइदिन्छौँ भनेर उम्मेदवारले भनेकाले भोट हाल्न गाउँ जान लागेका हौँ ”बताउनुभयो ।

इँटाभट्टाबाहेक खेतमा काम गर्न आएका मजदुर मतदाता पनि घर फर्किएका छन् । चाँगुनारायण नगरपालिका– ९ ताथलीका सानुभाइ गिरीले खेतमा काम गर्न आएका मजदुर पनि काम छाडेर मतदान गर्न फर्किएको बताउनुभयो । भक्तपुरमा मजदुर नपाइने भएपछि विभिन्न जिल्लाबाट हरेक वर्ष खेतको काम गर्न मजदुर आउँछन् । “भोट हालेर फर्किन्छौ भन्दै मजदुर घर फर्किएपछि खेत खन्न र गहुँ छर्न पनि ढिला हुन थालेको छ” उहाँको भनाइ छ ।

काठमाडौँ उपत्यका बाहिरबाट आएका भक्तपुर औद्योगिक क्षेत्रभित्रका विभिन्न उद्योगका कामदार पनि मतदानकै लागि गाउँ फर्किएपछि कतिपय उद्योग दुई दिनदेखि बन्द भएको छ । भक्तपुरमा ६२ इँटाभट्टामा स्थानीय र बाहिरका गरी करीब ३० हजार मजदुर कार्यरत छन् ।

 

  • 25Read This News:
  • 260577Total reads:
  • 129901Total visitors: