भूकम्पपीडित किसानलाई रु ६२ लाख राहत

चितवन, ३१ असार २०७४। भूकम्पबाट गोठ, खोरलगायत पूर्वाधारमा क्षति पुगेका पशुपालक किसानलाई राहत वितरण शुरु गरिएको जिल्ला पशुसेवा कार्यालय चितवनले जनाएको छ ।

कार्यालयका प्रमुख डा डिल्लीराम सेढाइँकाअनुसार जिल्लाको ईच्छाकामना गाउँपालिकाबाट उक्त राहत वितरण शुरु गरिएको हो । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको कार्यक्रमअन्तरगत ती किसानलाई जीविकोपार्जनमा सुधार ल्याउन तथा पशुपक्षी पुर्नस्थापन कार्यक्रम सञ्चालन गरी राहत दिन थालिएको हो ।

सो कार्यक्रम अन्तरगत यो वर्ष जिल्लाका ६१४ जना किसानले रु ६२ लाख ६ हजार प्राप्त गर्ने छन् । जिल्ला विपद् व्यवस्थापन समितिको निर्णयानुसार आएको राहत रकम वितरण गर्न शुरु गरिएको हो ।

समितिका संयोजक तथा चितवनका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले असारको दोस्रो साता बसेकोे समितिको बैठकले सो राहत वितरणको अनुमोदन गरेको बताउनुभयो । सोही निर्णयानुसार जिल्लामा राहत दिन थालिएको हो ।

यसरी राहत पाउनेमा दारेचोकका १५३, चण्डिभञ्याङका ८२, लोथरका १२० परिवार छन् । यस्तै अन्य राहत पाउने किसानमा कोराकका १०६ घर, कविलासका १६, सिद्धिका ३, भरतपुरको १ तथा खैरहनी र रत्ननगरका ११/११ घर रहेका पशुसेवा कार्यालय चितवनका प्रमुख डा सेढाईले जानकारी दिनुभयो ।

उक्त कार्यक्रम अन्तरगत २ सय खसी गोठ, कुखुराको खोर ६० वटामा क्षति पुगेकाले राहत दिइने छ ।

यस्तै जीविकोपार्जन अन्तरगत बोका ८० वटा, बाख्रा ३० वटा, कुखुरा २ हजार, बुंगुर १०० वटा, डाले घाँसका विरुवा सात हजार तथा मिनरल ४०० केजी वितरण हुने छ । पशुआहार नेपिएर ६५ हजार थान वितरणसँगै तीन पटक पशुस्वास्थ्य व्यवस्थापन कार्यक्रम हुने जनाईएको छ ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*